काठमाडौं, भदौ २५ गते । कालिञ्चोक दर्शन लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आगामी असोज १६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमध्ये ८.५ प्रतिशत अर्थात् ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत अर्थात् २८ लाख १८ हजार ४२१ रुपैयाँ ५ पैसा नगद लाभांश रहेको छ।
त्यस्तै, बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाले कम्पनीको व्यावसायिक क्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालकको नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ८ गतेसम्म कायम शेयरधनीहरू मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।





