काठमाडौं, भदौ २५ गते । जीवन बीमा कम्पनीहरूले नयाँ व्यापारमा आकर्षक वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको साउनमा ४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा कम्पनीहरूले ३ अर्ब २७ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार ३७.८७ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा सर्वाधिक नयाँ व्यापार गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका आधारमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। साउनमा १४ वटै जीवन बीमा कम्पनीको नयाँ व्यापार बढेको छ।
चालु आर्थिक वर्षको साउनमा नेपाल लाइफले १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ संकलन गरेको थियो। यस आधारमा कम्पनीको नयाँ व्यापार ३०.८५ प्रतिशतले बढेको छ।
नयाँ व्यापारका आधारमा दोस्रो स्थानमा रहेको नेसनल लाइफले समीक्षा अवधिमा ५३ करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको साउनमा कम्पनीले ४२ करोड ३७ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार २५.५९ प्रतिशतले बढेको हो।
त्यस्तै, नयाँ व्यापार धेरै गर्ने तेस्रो कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। कम्पनीले अघिल्लो वर्षको साउनमा २२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा चालु वर्षको सोही अवधिमा ४१.६९ प्रतिशतले वृद्धि गर्दै ३२ करोड २८ लाख रुपैयाँ पुर्याएको छ।
समीक्षा अवधिमा हिमालयन लाइफले ३० करोड ५३ लाख रुपैयाँ, सिटिजन लाइफले २९ करोड ७६ लाख रुपैयाँ, आइएमई लाइफले २५ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २४ करोड ८९ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले २३ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
अघिल्लो वर्षको साउनको तुलनामा हिमालयन लाइफको नयाँ व्यापार २८.२७ प्रतिशत, सिटिजन लाइफको १८.९९ प्रतिशत, आइएमई लाइफको ६६.९२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ४९८.८९ प्रतिशत र एलआईसी नेपालको १०.१६ प्रतिशतले बढेको छ।
यसैगरी, रिलायबल नेपाल लाइफले १९ करोड १ लाख रुपैयाँ, एसियन लाइफले १८ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड ४२ लाख रुपैयाँ, मेट लाइफले १४ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १४ करोड ९ लाख रुपैयाँ र सन नेपाल लाइफले १० करोड ७४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिमा यी सबै कम्पनीको नयाँ व्यापारसमेत बढेको छ।





