काठमाडौं, भदौ २५ गते । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १३ दशमलव ८५ अंकले घटेर २ हजार ५३१ दशमलव ५५ विन्दुमा कायम भएको हो ।
बजारमा आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, केही कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
दिनभरिमा ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार कित्ता शेयर किनबेच भएका छन् । आज बजारमा ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड १२ लाख रुपैयाँ र एनआरएनको १९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शेयर मूल्य लिबर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, दोल्ती पावरका लगानीकर्ताले ८ दशमलव २२ प्रतिशत र अपर लोहोरे खोलाका लगानीकर्ताले ७ प्रतिशतले कमाएका छन् ।
यता, आज सबैभन्दा धेरै शेयर मूल्य सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको शेयर मूल्य १४ दशमलव ९८ प्रतिशतले घटेको छ ।





