काठमाडौं, भदौ २१ गते । म्याक्सस नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायलाई करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराएको छ ।
एसएआइसी म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा उपलब्ध गराइएको उक्त सहयोगमा प्रत्यक्ष आर्थिक सहयोग, स्वच्छ खानेपानी प्रणाली तथा अत्यावश्यक राहत सामग्री समावेश छन् ।
राहत सामग्रीअन्तर्गत डसना, सिरानी, तन्ना, औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । उक्त रकमको चेक केही दिनअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो ।
बाँकी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग नुवाकोटको त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । त्यहाँका दुईवटा होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गर्नुका साथै करिब ४०० जनाका लागि अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ ।
विपद् प्रभावितलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ ।
प्रतिघण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमताका ती प्रणालीबाट हाल अस्थायी आश्रयमा रहेका करिब ५०० परिवार लाभान्वित हुने जनाइएको छ । विद्यालय पुनः सञ्चालन भएपछि उक्त प्रणालीबाट विद्यार्थीसमेत लाभान्वित हुनेछन् ।
राहत सामग्री वितरण तथा खानेपानी प्रणाली जडान कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायतको प्रत्यक्ष सहभागिता रहेको थियो ।





