काठमाडौं भदौ १७। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले भदौ १६ गते मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेको हो। कम्पनीका सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शमशेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त सहयोग प्रदान गरेको जनाएको छ।
भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा व्यापक क्षति पुगेर सयौँ परिवार विस्थापित हुनुपरेको कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघसंस्थाबाट भइरहेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रलाई आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको जनाएको छ। ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप हालको विषम परिस्थितिमा प्रदान गरिएको उक्त सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनर्स्थापनामा थप टेवा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
प्रभु महालक्ष्मी लाइफले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार र राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ।





