काठमाडौं, भदौ २१ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणको काम जारी रहँदा बाढीबाट भएको क्षतिका कारण बीमा क्षेत्रमा समेत ठूलो आर्थिक दायित्व थपिने देखिएको छ ।
बाढी तथा पहिरोबाट घर, व्यवसाय, सवारीसाधन, उद्योग तथा अन्य सम्पत्तिमा क्षति पुगेकाले सम्बन्धित बीमा कम्पनीमा अर्बौं रुपैयाँ बराबरको बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ ।
बीमा भनेको व्यक्ति, व्यवसाय वा सम्पत्तिमा हुन सक्ने अनिश्चित जोखिमलाई बीमकसमक्ष हस्तान्तरण गरी जोखिमबाट भएको क्षतिको अवस्थामा बीमालेखमा उल्लेख भएबमोजिम क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था हो । दुर्घटना, प्राकृतिक विपत्ति तथा अन्य जोखिमका कारण हुने आर्थिक क्षतिबाट राहत प्राप्त गर्न बीमाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
बीमा दाबी कसरी गर्ने ?
बीमा गरिएको सम्पत्ति वा जीवनमा बीमालेखले समेटेको घटना घटेर क्षति भएमा बीमितले सकेसम्म तत्काल सम्बन्धित बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ । टेलिफोन, एसएमएस, इमेल वा कम्पनीले उपलब्ध गराएको अन्य माध्यमबाट घटनाबारे जानकारी दिन सकिन्छ ।
दाबी गर्नका लागि बीमितले बीमा दाबी फाराम भरी क्षतिसम्बन्धी आवश्यक विवरण तथा प्रमाणहरू पेस गर्नुपर्ने हुन्छ । पूर्ण दाबीका लागि बीमालेखको सक्कल प्रति र आंशिक दाबीका लागि बीमालेखको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
क्षति भएको प्रमाण, घटनाको प्रकृतिअनुसार प्रहरी प्रतिवेदन तथा बीमा कम्पनीले माग गरेका अन्य आवश्यक कागजातसमेत पेस गर्नुपर्ने हुन्छ । आपराधिक घटना वा दुर्घटनाका कारण क्षति भएको अवस्थामा प्रहरी प्रतिवेदन आवश्यक पर्न सक्छ ।
निर्जीवन बीमाको हकमा सम्बन्धित बीमालेखमा उल्लेख भएको प्रक्रिया पूरा गरी आवश्यक कागजात पेस गर्नुपर्छ । बीमा कम्पनीले क्षतिको मूल्याङ्कनका लागि सर्भेयर खटाएको अवस्थामा सर्भे प्रतिवेदनसमेत दाबी प्रक्रियाका लागि महत्वपूर्ण हुन्छ ।
जीवन बीमाको हकमा बीमा अवधि समाप्त हुनुअघि बीमितको मृत्यु भएको अवस्थामा हकवालाले नाता प्रमाणित हुने कागजात, मृत्यु प्रमाणपत्र तथा दुर्घटनाका कारण मृत्यु भएको भए प्रहरी प्रतिवेदन र आवश्यकताअनुसार शव परीक्षण प्रतिवेदनलगायतका कागजात पेस गर्नुपर्ने हुन्छ ।
बीमा दाबीका क्रममा बीमा कम्पनीले माग गरेका अन्य आवश्यक कागजात तथा नेपाल बीमा प्राधिकरणबाट तोकिएका विवरणसमेत पेस गर्नुपर्ने हुन्छ ।
दाबीसम्बन्धी आवश्यक प्रक्रिया पूरा भई दाबी फर्छ्यौट भएपछि बीमा कम्पनीले स्वीकृत रकम बीमित वा हकवालालाई भुक्तानी गर्छ । सामग्रीमा उल्लेख भएअनुसार दाबी फर्छ्यौट पुर्जा बुझिलिएपछि चेकमार्फत दाबी भुक्तानी गर्ने व्यवस्था रहेको छ ।
दाबीका लागि आवश्यक प्रमुख कागजात
- पूर्ण रूपमा भरिएको बीमा दाबी फाराम ।
- पूर्ण दाबीको हकमा बीमालेखको सक्कल प्रति तथा आंशिक दाबीको हकमा बीमालेखको प्रतिलिपि ।
- क्षति भएको प्रमाण तथा घटनासम्बन्धी आवश्यक विवरण ।
- आपराधिक घटना भएको अवस्थामा प्रहरी प्रतिवेदन ।
- निर्जीवन बीमाको हकमा सर्भेयरबाट तयार गरिएको सर्भे प्रतिवेदन, आवश्यक भएमा ।
- जीवन बीमाको हकमा नाता प्रमाणित हुने कागजात तथा मृत्यु प्रमाणपत्र ।
- बीमा कम्पनी वा सम्बन्धित निकायले माग गरेका अन्य आवश्यक कागजात ।





