काठमाडौं, भदौ २५ गते । स्वास्थ्य बीमा बोर्डले बीमितको अनिवार्य केवाईसी अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गर्दै विद्युतीय माध्यमबाट हुँदै आएको स्वास्थ्य बीमा नवीकरण आजदेखि बन्द गरेको छ।
बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक गर्नुपर्ने भएकाले विगतमा प्रयोग हुँदै आएका कनेक्टआईपीएस, ई–सेवा तथा खल्तीलगायतका विद्युतीय माध्यमबाट नवीकरण गर्ने व्यवस्था भदौ २५ गतेदेखि बन्द गरिएको जनाएको हो।
बोर्डका अनुसार बीमितले केवाईसी अद्यावधिक गरेपछि पुनः ती विद्युतीय माध्यमबाट समेत स्वास्थ्य बीमा नवीकरण गर्न सक्नेछन्।
सम्पूर्ण बीमितले एचआईबी ई–पोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिंक्रोनाइज गरी अनिवार्य रूपमा केवाईसी अद्यावधिक गर्नुपर्नेछ। त्यसपछि सोही पोर्टलबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको अनलाइन आबद्धता तथा नवीकरणसम्बन्धी सेवा थप व्यवस्थित, सरल, सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बोर्डले एचआईबी ई–पोर्टल सञ्चालनमा ल्याएको हो।
बोर्डले बीमितलाई नयाँ व्यवस्थाअनुसार केवाईसी अद्यावधिक गरी स्वास्थ्य बीमा नवीकरण गर्न आग्रह गरेको छ।





