काठमाडौँ, भदौ २५ गते । खाना पकाउने ग्यासको चरम अभावको सबैभन्दा बढी मार विद्यार्थी र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरमा परेको छ । एउटा मात्रै ग्यास सिलिन्डर भएका उनीहरूले सिलिन्डर सकिएपछि तत्काल अर्को भर्न वा साट्न नपाउँदा समस्या झेल्नुपरेको हो ।
अनामनगरमा बसेर शङ्करदेव क्याम्पसमा अध्ययनरत कमल शाहीको भान्सामा खाना पाक्न छोडेको एक महिना भइसकेको छ । साउनमै ग्यास सकिएपछि बिहान होटलमा र बेलुका तयारी खाना खाएर गुजारा गर्दै आएका शाहीले बुधबारदेखि होटलको ग्याससमेत सकिएको खबर पाएपछि अब एक छाक खाना खानसमेत समस्या हुने अवस्था आएको गुनासो गर्नुभयो ।
शाहीले भन्नुभयो, “जुनसुकै ग्याससँग साट्न पाइने भनेपछि बुझ्न कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनमा पुग्दा त्यहाँ पनि ग्यास पाइने आस मर्यो ।”
ग्यास नपाएर भौँतारिनुपरेका शाही प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै धेरै विद्यार्थी तथा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक ग्यासको अभावबाट प्रभावित भएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको गुनासो शाखामा पछिल्लो समय खाना पकाउने ग्यास नपाएको गुनासो बढी आउने गरेको छ । विभागका गुनासो अधिकारी अर्जुन खड्काका अनुसार ग्यास नपाएको गुनासो गर्नेमा दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी तथा मजदुरको सङ्ख्या बढी छ ।
उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्ने गरेको छ । तर, त्यस्ता गुनासोको सम्बोधन भने निकै कम हुने गरेको खड्काले बताउनुभयो ।
विभागका निर्देशक अनिल किराँतीले पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको समस्या समाधान गर्न मन्त्रीस्तरबाटै पहल भइरहेको बताउनुभयो । तर, आपूर्ति शृङ्खलामै समस्या देखिएकाले ग्यासको माग र आपूर्तिको सन्तुलन बिग्रिएको उहाँको भनाइ छ ।
ग्यास उद्योगीहरूले पनि एउटा मात्रै सिलिन्डर भएका तथा प्राथमिकतामा पर्नुपर्ने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने काम भइरहेको दाबी गर्दै आएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सचिव सुदीप घिमिरेले पछिल्लो समय ग्यासको अवस्था सामान्य नहुँदै भोटेकोशीबाट आएको बाढीका कारण काठमाडौँ आउने प्रमुख राजमार्ग बन्द हुँदा ग्यास आपूर्तिमा थप समस्या भएको बताउनुभयो । त्यसका कारण राजधानीमा ग्यासको अभाव अझै जटिल बनेको उहाँको भनाइ छ ।





