Your Ads

Ready to take your business to the next level?

गोर्खाज फाइनान्सको चामत्कारिक पुनरागमन, २१ करोड ९४ लाख नाफा

काठमाडौं । कुनै समय वित्तीय संकट र उच्च खराब कर्जाको समस्यामा परेको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य सुधार गर्दै २१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा १२ करोड १४ लाख रुपैयाँ खुद घाटामा रहेको फाइनान्सले एक वर्षमै नाफामा फर्किएको हो।

फाइनान्सले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २८ पैसा पुगेको छ। अघिल्लो वर्ष ईपीएस १३ रुपैयाँ ९९ पैसा ऋणात्मक थियो। त्यस्तै, संस्थाको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा कायम भएको छ।

संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीसमेत बढेको छ। अघिल्लो वर्ष २९ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर गत वर्ष ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, अघिल्लो वर्ष १४ करोड २७ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको फाइनान्सले गत आर्थिक वर्षमा ३६ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

फाइनान्सको निक्षेप संकलनमा भने सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष ९ अर्ब ४२ करोड रुपैयाँ रहेको निक्षेप गत वर्ष घटेर ९ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ। तर, कर्जा लगानी भने ५ अर्ब ७१ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

फाइनान्सको प्रमुख चुनौतीका रूपमा रहेको खराब कर्जा (एनपीएल) अनुपातमा समेत सुधार देखिएको छ। अघिल्लो वर्ष १७.४६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर १३.३२ प्रतिशतमा आएको छ। यद्यपि खराब कर्जा अझै उच्च रहेकाले ऋण असुलीलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।

सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्जमा समेत उल्लेख्य कमी आएको वित्तीय विवरणले देखाएको छ।

फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ सञ्चित छ। यद्यपि वितरणयोग्य नाफा अझै ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो नाफा ७० करोड २२ लाख रुपैयाँ ऋणात्मक थियो।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *