काठमाडौं साउन २७ गते। नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित प्राथमिक पूँजी बजार सुधार नीति, २०८३ सार्वजनिक गरिएको छ।
नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसहितको सहभागितामा गठित प्राथमिक बजार सुधार सहजीकरण कार्यदलले तयार पारेको उक्त नीति सार्वजनिक गरिएको हो।
नीतिले उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम, हरित तथा दिगो विकास परियोजनाका लागि दीर्घकालीन पूँजीको सहज उपलब्धता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, सार्वजनिक निष्काशन प्रणालीलाई पारदर्शी, डिजिटल तथा समयबद्ध बनाउने, वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने र योग्य संस्थागत तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने नीति लिइएको छ।
सार्वजनिक निष्काशनपछि प्राप्त पूँजीको प्रभावकारी उपयोग तथा अनुगमन प्रणाली विकास गर्ने, लगानीकर्ता संरक्षण र बजारप्रतिको विश्वास अभिवृद्धि गर्ने तथा प्रविधिमुखी, नवप्रवर्तनमुखी र उच्च वृद्धिका उद्यमको पूँजी बजारमा पहुँच विस्तार गर्ने नीतिको उद्देश्य छ।
नीतिले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्ने तथा दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमिक रूपमा संस्थागत गर्ने लक्ष्यसमेत राखेको छ।
नेपालको प्राथमिक पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख वित्तीय स्रोतका रूपमा स्थापित गर्दै दक्षिण एसियाको प्रतिस्पर्धी तथा विश्वसनीय पूँजी बजारमध्ये एकका रूपमा विकास गर्ने रणनीतिक लक्ष्य नीतिले लिएको छ।
बोर्डका अनुसार नीति कार्यान्वयनसँगै नेपालको प्राथमिक पूँजी बजार थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी तथा प्रविधिमैत्री बन्नेछ। यसबाट राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनको प्रमुख आधार निर्माण हुने अपेक्षा गरिएको छ।





