Your Ads

Ready to take your business to the next level?

सूर्यज्योति लाइफको नाफा ८.५५ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क १५.७३ प्रतिशतले बड्यो

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ३८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५५ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बीमा व्यवसाय विस्तारसँगै कम्पनीको आम्दानी र बीमाशुल्क संकलनमा समेत वृद्धि भएको छ।

कम्पनीको खुद आर्जित बीमाशुल्क १५.७३ प्रतिशतले बढेको छ। त्यस्तै, कुल आम्दानी १२.९८ प्रतिशतले वृद्धि भएको छ। आम्दानीसँगै बीमा दाबी भुक्तानी र खर्च पनि बढेका छन्। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४.०८ प्रतिशत तथा कुल खर्च १३.५० प्रतिशतले बढेको छ।

नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ५९ पैसा कायम भएको छ। गत असार मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्म कम्पनीको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६० करोड ९२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ।

समग्रमा, बीमाशुल्क र कुल आम्दानीमा भएको वृद्धिले कम्पनीको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ। यद्यपि, दाबी भुक्तानी तथा कुल खर्चमा भएको वृद्धिले नाफा वृद्धिको दरलाई सीमित गरेको छ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *